Rule 4
वातावरणीय प्रभाव मूल्याङ्कनको लागि क्षेत्र निर्धारण (स्कोपि·) गर्नु पर्ने
(१) वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने कुनै प्रस्तावको सम्बन्धमा प्रस्तावकले प्रस्ताव कार्यान्वयन हुने गाउँ विकास समिति वा नगरपालिका तथा त्यस क्षेत्रका विद्यालय अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थालाई सो प्रस्तावको कार्यान्वयनबाट वातावरणमा पर्न सक्ने प्रभावको सम्बन्धमा लिखित सुझाव दिनको लागि पन्ध्र दिनको अवधि तोकी राष्ट्रिय स्तरको कुनै एक दैनिक समाचारपत्रमा सूचना प्रकाशन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना प्रकाशित भएपछि सो सम्बन्धमा कसैको राय सुझाव भए त्यसरी सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र सम्बन्धित प्रस्तावकलाई आफ्नो राय सुझाव दिन सकिनेछ । यसरी राय सुझाव दिनेले त्यसको जानकारी सम्बन्धित निकायलाई समेत दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त राय सुझाव समेत संलग्न गरी प्रस्तावकले सो प्रस्तावको कार्यान्वयनबाट वातावरणको के कस्तो क्षेत्रमा कस्तो प्रभाव पर्दछ सो उल्लेख गरी क्षेत्र निर्धारणको लागि सम्बन्धित निकाय समक्ष निवेदन दिनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निवेदन प्राप्त भएपछि सम्बन्धित निकायले निवेदनसाथ संलग्न कागजात जाँचबुझ गरी क्षेत्र निर्धारण सम्बन्धमा आफ्नो राय सहित सो निवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम क्षेत्र निर्धारणको लागि कुनै निवेदन प्राप्त भएमा मन्त्रालयले सो निवेदनसाथ संलग्न कागजात जाँचबुझ गरी प्रस्तावित वा संशोधित रूपमा क्षेत्र निर्धारण गरी दिनु पर्नेछ ।